२७ कात्तिक, बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान नसकिएपछि बुधबार (भोलि) पनि लिइने भएको छ । सहकारी ठगी अभियोगमा अनुसन्धानका लागि रुपन्देहीको भैरहवा ल्याइएका उनको बयान भोलि पनि लिइने भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मंगलबार दिउँसो १ बजेपछि सुरु भएको बयान साँझ पौने ६ बजे स्थगित गरिएको छ । बयानपछि उनलाई जिल्ला प्रहरी कार्यालयमा सहजरुपमा राखिएको प्रहरीले जनाएको छ ।
सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका लामिछानेलाई पोखराबाट मंगलबार दिउँसो भैरहवा ल्याइएको थियो ।