|  

रूपन्देहीमा रविसँग आज पनि बयान लिइँदै

२८ कात्तिक,काठमाडौं । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको रकम अपचलन प्रकरणमा रूपन्देही लगिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आज पनि बयान लिइँदै छ ।

रूपन्देही प्रहरी प्रवक्ता लक्ष्मी खनालका अनुसार बुधबार बिहान १० बजेदेखि सरकारी वकिलको कार्यालयमा बयान लिइँदै छ । पोखराबाट भैरहवा ल्याएका गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्धक लामिछानेको मंगलबार ५ घण्टा बयान लिएको थियो । सम्भवतः आजै लामिछानेको बयान सकेर पोखरा पठाउने तयारी रूपन्देही प्रहरीको छ ।

मंगलबार लामिछानेले इन्कारी बयान दिएका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका एक प्रहरी अधिकारीका अनुसार रविले आफ्नो नाम लेखेर कसले पैसा जम्मा गरिदियो भन्ने थाहा नभएको बताएका छन् । सुप्रिमबाट विस.२०७७ चैत १८ मा रविका नाममा मात्रै दुई करोड रूपैयाँ गएको देखिन्छ । रविले आफ्नो नाममा त्यसरी रकम आएको कुरालाई इन्कार गर्दै आएका छन् ।