|  

नेपालमा दैनिक ४ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु

२८ कात्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांकअनुसार नेपालमा दैनिक ४ जना महिलाको पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु हुने गरेको पाइएको छ ।

विज्ञहरूका अनुसार नेपालका महिलामा सबैभन्दा बढी अर्थात एक नम्बरमा पाठेघरको क्यान्सर पाइन्छ । दोस्रोमा ‘ब्रेस्ट’ क्यान्सर र तेस्रोमा पेटको क्यान्सर रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । महिलालाई पाठेघरको मुखको क्यान्सर हुने कारण सानो उमेरदेखि नै शारीरिक सम्बन्धमा संलग्न हुनु, धेरै मान्छेसँग शारीरिक सम्बन्ध राख्नु लगायत रहेका छन ।

पाठेघरको मुखको क्यान्सर हुँदा शारीरिक सम्बन्ध राख्दा तल्ल पेट दुख्ने, रगत बग्ने, गनाउने पानी बग्ने, सामान्य उपचार गर्दा निको नहुने जस्ता लक्षण देखा पर्छ । पाठेघरको मुखको क्यान्सर स्टेज १, २ र ३ सम्म निको पार्न सकिने चिकित्सकहरुको भनाइ छ । महिलाहरूलाई सन्तुलित खाना खाने, नियमित व्यायाम गर्ने, धेरै तनाव नलिने, स्वास्थ्य जीवनशैली अपनाउन उनीहरुले सुझाएका छन््् ।