२९ कात्तिक, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले सूचना प्रविधिको दशक घोषणा गरेपनि एक पैसा बजेट नछुट्याएको स्पष्ट पारेका छन् ।
आज काठमाडौंमा ‘स्टार्टअप एण्ड मिडिया फेस्ट-२०२४’ को उद्घाटन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् । उनले भनेका छन, ‘हाम्रो सरकार पोलिसीमा आइटी दशक शुरु भयो भन्ने बोल्छ तर आइटी क्षेत्रको बजेट शून्य छ । डिजिटल नेपालको पोलिसी कार्यान्वयन गर्ने भनेर सरकारले पोलिसीमा भन्यो । त्यसमा एक पैसा पनि बजेट छैन । किन त्यसो भनेको होला ।’
मन्त्री गुरुङले नेपालमा भन्ने एउटा र गर्ने अर्को परिपाटीले युवाहरू विश्वास नलागेर विदेश पलायन भइरहेको भन्दै त्यो अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिए । उनले सरकार नेपाललाई सूचना प्रविधिको हबको रूपमा र सूचना प्रविधिलाई उद्योगको रूपमा विकास गर्न र सूचना प्रविधि उद्योगको विशेष आर्थिक क्षेत्र विकास गर्न चाहेको बताए । उनले २०८४ अगाडिका ३ वर्षमा ३ लाख आइटी क्षेत्रबाट रोजगारी सिर्जना गर्ने कुरामा मन्त्रालय लाग्ने घोषणा गरे ।