२९ कात्तिक काठमाडौँ । आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटको च्याम्पियन बन्दै पहिलो पटक यू-१९ महिला टी-२० विश्वकपमा छनोट भएको नेपाली मिहिला टोलीलाई बाजागाजा सहित भव्य स्वागत गरिएको छ।
बिहीबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेप सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ (क्यान) सचिव पारस खड्का पदाधिकारी लगायतले यू१९ महिला क्रिकेट टोलीलाई स्वागत गरेको हो।
दुबईमा भएको एसिया छनोटको अन्तिम खेलमा बुधबार घरेलु टोली युएईलाई ८ विकेटले पराजित गर्दै नेपाल शीर्ष स्थानमा रहेर अर्को वर्ष जनवरी-फेब्रुअरीमा मलेसियामा हुने विश्वकपमा छनोट भएको हो।
चार टोली सहभागि छनोटमा नेपाल र युएईले समान ५ जितबाट १० अंक जोडेपनि नेटरनरेटमा नेपालले युएईलाई पछि पार्यो।
यसअघि युएई र थाइल्याण्ड भन्दा पछि रहेपछि छनोट हुन असफल रहेको युवा महिला टोलीले यस पटक भने विश्वकप पुगेर नेपाली क्रिकेटमा इतिहास रचेको हो। महिला क्रिकेटमा नेपालको कुनै पनि टोली विश्वकपमा छनोट भएको यो पहिलो पटक हो।