|  

चारवटा संसदीय समितिको बैठक बस्दै

३० कात्तिक, काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ ।

जस अन्तर्गत  कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान साढे ११ बजे बस्ने छ । बैठकमा समितिले गर्ने स्थलगत अनुगमन तथा समितिका काम कारबाहीका विषयमा छलफल हुनेछ ।

त्यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो सवा १ बजे  बस्नेछ । बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा कार्यविधिको मस्यौदामाथि छलफल हुनेछ ।

यता दिउँसो १ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्नेछ । बैठकमा पर्सा र चितवन राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षा गर्ने  कार्यसूची रहेको छ ।