२९ कात्तिक, काठमाडौं । दुई दिनअघि झाँक्री प्रकाश भुजेलले चलाएको गाडीको ठक्करका कारण ज्यान गुमाएका नारायण नगरकोटीको शव अस्पतालबाट अझै उठेको छैन ।
मृतक परिवारसँग आर्थिक लेनदेनको कुरा नमिल्दा शव उठ्न नसकेको हो । बुधबार शंकरापुर-९ इन्द्रायणीमा भुजेलले चलाएको गाडीले ठक्कर दिँदा कागेश्वरी मनहरा-२ आलापोटका ३८ वर्षीय नगरकोटीको ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
दुर्घटनामा घाइते भएकी उनकी पत्नी ३२ वर्षीया सानुमाया नगरकोटीलाई सोही अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।प्रहरीले मृतकको परिवारसँग शव बुझ्नका लागि आग्रह गर्दा चालक भुजेलले मृतक र घाइतेलाई ‘यथोचित’ क्षतिपूर्ति दिनुपर्ने माग गरेका थिए । भुजेलले प्रतिव्यक्ति १५ देखि २० लाख रूपैयाँसम्म क्षतिपूर्ति दिन चाहेका छन् ।
तर, मृतकको परिवारले स्वीकार गरेको छैन ।पत्नी सानुमायाको पनि अवस्था नाजुक छ । भेन्टिलेटरबाट दिइएको कृत्रिम श्वासप्रश्वासका कारणमात्र उनी जीवित रहेको भन्दै उनलाई पनि मृतकसरह क्षतिपूर्ति दिनुपर्ने माग पीडित पक्षले गरेको छ ।नारायण नगरकोटी पूर्वमाओवादी लडाकु हुन् ।
नगरकोटी दम्पत्तिका १४ र ६ वर्षिया दुई छोरी छन् । पत्नी सानुमायाको पेटमा ४ महिनाको गर्भ रहेको हल्ला चलाइए पनि त्यो सत्य नभएको पारिवारिक स्रोतले बतायो ।