३० कात्तिक, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार परिवर्तन गर्न चाहनेहरूको प्रयास निस्तेज पारिने बताएका छन् ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल केन्द्रीय समिति छैटौँ पूर्ण बैठकलाई आज काठमाडौंमा सम्बोधन गर्दै पोखरेलले यस्तो धारणा राखेका हुन् । उनले सरकार परिवर्तन हुन्छ भन्ने गलत हल्ला फैलाइएको कारण कामले गति लिन नसकेको बताए । उनले अहिले कांग्रेससँग सत्ता सहकार्य भए पनि आगामी चुनाव एक्लाएक्लै लड्ने सहमति भएको प्रस्ट पारे ।
अर्को प्रसंगमा महासचिव पोखरेलले अहिले समाजमा फैलिँदै गएको सामाजिक अराजकता ठूलो चुनौतीको रूपमा रहेको बताए । त्यो सामाजिक अराजकता चिर्न नसक्ने हो भने मुलुकको समृद्धि अघि बढ्न नसक्ने उनको भनाइ छ ।