३० कात्तिक, काठमाडौं । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) र सांसदहरुबीच सवालजवाफ भएको छ ।
आज बसेको समितिको बैठकमा सांसदहरुले कान्छाराम कन्स्ट्रक्सन कालोसूचीमा परेको विषयमा जवाफ मागेपछि राज्यमन्त्री तामाङ र सांसदहरुबीच सवालजवाफ भएको हो । बैठकमा राज्यमन्त्री तामाङ अख्तियार ऐन संशोधनकर्ताका रुपमा उपस्थित थिए । त्यस क्रममा कांग्रेस सांसद विश्वप्रकाश शर्माले राज्यमन्त्रीकै कम्पनी कालोसूचीमा परेको विषय के हो भनेर प्रश्न उठाएका थिए । जवाफमा राज्यमन्त्री तामाङले सांसद हुनुभन्दा दुई वर्षअघि नै आफूले कम्पनी छाडिसकेको दाबी गरेका छन् । उनले आफूले कानुनविपरीत काम गरेको भए एक मिनेट पनि पदमा नबस्ने बताए । कम्पनीले गरेको कामका लागि कानुनबमोजिम अयोग्य ठहरिने भए आफूले राजनीति नै छाडिदिने उनको भनाइ छ ।
यस्तै, नेकपा एमालेका सांसद रघुजी पन्तले कान्छाराम कन्स्ट्रक्सनले अलपत्र छाडेको काम पूरा गर्नुपर्नेमा जोड दिएका छन् । जवाफमा राज्यमन्त्री तामाङले गैरकानुनी काम गरेको भए जरिवाना तिर्न तयार रहेको बताए ।