३० कात्तिक, काठमाडौँ । नेपालले बंगलादेशमा बिजुली निर्यात सुरु गरेको छ । आज (नोभेम्बर १५) मा पहिलोपटक नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यातको उद्घाटन गरिएको हो ।
ऊर्जामन्त्री दिपक खड्का, भारतका विद्युत मन्त्री मनोहरलाल खट्टर र बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कबिरले भर्चुअलमार्फत् संयुक्त रुपमा उद्घाटन गर्दै विद्युत निर्यातको औपचारिक सुरु गरेका हुन् ।
शुक्रबार करिब ११ घण्टामात्रै बिजुली बिक्री गर्दा ३८ लाख ३२ हजार ४ सय रुपैयाँ आम्दानी हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
नेपालबाट भारतको बाटो हुँदै ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्ने विषयमा तीन देशका कम्पनीबीच १७ असोजमा सम्झौता भएको थियो ।