०१ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार उल्ट्याएर आफूहरूको सरकार बन्ने दाबी गरेका छन् ।
आज काभ्रे-काठमाडौँ सम्पर्क समितिको भेलालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले आफूहरूको दल नयाँ सरकारका लागि पर्खिरहेको बताएका हुन् । उनले भनेका छन्,‘हामी ३२ भएको हुनाले विपक्षी दलको नेता छ, विपक्षी दल भनेको गभर्मेन्ट अफ वेइटिङ अर्थात पर्खिरहेको सरकार हो । त्यसकारण यो सरकारलाई उल्टाएर बन्ने सरकार हाम्रो हो । त्यसकारण हामी चिन्तित हुनुपर्ने कुनै कुरा छैन ।’ उनले यसअघि आफ्नो दलसँग म्याजिक सिट रहेको उल्लेख गर्दै अहिले पनि त्यस्तै रहेको पनि जिकिर गरे ।
साथै, उनले अहिले बनिरहेको सरकार अप्राकृतिक ढंगबाट बनेको बताए । उनले आफूहरू अहिले पनि चुनौती र अवसरको दोसाँधमा रहेको जिकिर गरे ।