०१ मंसिर, काठमाडौं । राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले बढ्दो हरितगृह ग्यासको उत्सर्जनलगायतका कारण नेपालले जलवायु परिवर्तनजन्य असर निरन्तर भोग्नु परेको बताएकी छन् ।
अरजरबैजानको बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि युएनएफसीसीसीका पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप-२९) को ‘न्यायसंगत र समतामूलक ऊर्जा संक्रमणका लागि रूपान्तरणात्मक विधायी’ बहसका क्रममा धारणा राख्दै शाक्यले यस्तो बताएकी हुन् । साथै उनले नेपालले जलवायु परिवर्तनजन्य असरको क्षतिपूर्ति पाउनुपर्ने प्रस्ताव पनि कोप-२९ मा राखेकी छन । जीवास्म इन्धन निर्भरता घटाउने र जीवास्म मुक्त भविष्यका लागि समतापूर्ण ऊर्जा पहुँच सुनिश्चित गर्नेतर्फ विश्व समुदायको ध्यान केन्द्रित हुनुपर्नेमा पनि सांसद शाक्यको जोड थियो । मानव सिर्जित समस्या, प्राकृतिक स्रोतको अत्यधिक दोहन, ऊर्जाको अत्यधिक प्रयोग, बढ्दो औद्योगिकीकरणलगायतले जलवायु परिवर्तनमा भूमिका खेलेको र त्यसले प्राकृतिक प्रकोपका साथै जलवायुजन्य विपद्ले मानवजीवनमा गम्भीर असर गरिरहेको उनले उल्लेख गरेकी छन ।
जलवायु परिवर्तनका कारणले नेपालका हिमालबाट हिँउ पग्लिँदै गएको शाक्यको भनाइ थियो । नेपालले हरियाली प्रर्बद्धन गर्दै जाने अनि ठूला र सम्पन्न मुलुकहरूले उद्योग सञ्चालनका नाममा कार्बन उत्सर्जन गर्दै जानु न्यायसंगत र समतामूलक नहुनेमा पनि सांसद शाक्यको जोड थियो ।