१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् उपप्रधानमन्त्री प्रकाशमान सिंहले कांग्रेस पार्टीलाई सबल र सुदृढ बनाउन गुटबन्दी न्यूनीकरण गर्नुपर्ने बताएका छन् ।
शनिबार कांग्रेस जिल्ला कार्यसमिति मोरङको आयोजनामा भएको कार्यक्रममा उनले पार्टी व्यवस्थापन नै कांग्रेसको मूल चुनौती रहेको बताए ।
कार्यक्रममा उपप्रधानमन्त्री सिंहले सरकारको कार्यप्रगतिको समीक्षा गर्दै वर्तमान सरकार ७ बुँदे सहमतिको जगमा बनेको र यसले राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि काम गरिरहेको बताए ।
पार्टीभित्रको वरिष्ठताको विषयमा बोल्दै सिंहले १४औँ महाधिवेशनमा आफूले वरिष्ठताकै आधारमा सभापतिको दाबी गरेको तर केही नेताहरू पूर्वमान्यताबाट विचलित भएको गुनासो गरे ।