१ मंसिर, काठमाडौं । नेकपा एमालेले ‘प्रधानमन्त्री केपी शर्मा ओलीले चाइना कार्ड प्रयोग गरेर चीन भ्रमणमा जान लागेको’ भन्ने माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइप्रति आपत्ति जनाएको छ।
एमाले विदेश विभाग प्रमुख तथा सचिव रघुवीर महासेठले प्रेस वक्तव्य जारी गर्दै आपत्ति जनाएका छन् । वक्तव्यमा प्रचण्डले प्रयोग गरेका ‘चिनियाँ कार्ड’ र ‘अपरिपक्वताको प्रमाण’ आदि भनेकोमा एमालेले आपत्ति जनाउँदै अंग्रेजीमै वक्तव्य निकालेको छ ।
विज्ञप्तिमा भारतीय अखबार ‘दी हिन्दू’लाई दिएको अन्तर्वार्तामा प्रचण्डले ‘चिनियाँ कार्ड प्रयोग गर्न खाजेको’ र ‘चीन भ्रमणमा जानु अपरिपक्वताको प्रमाण’ भएको भन्ने अभिव्यक्ति दिएको दाबी गरिएको छ।
प्रचण्डको उक्त अभिव्यक्ति कूटनीतिक मर्यादा विपरित र नेपालको स्वतन्त्रताप्रति पूर्णरुपमा अनादर भएको आरोप लगाइएको छ।
प्रधानमन्त्रीको चीन भ्रमणमा जाने निर्णय नेपालको स्वतन्त्र परराष्ट्र नीतिको प्रतिबिम्बन भएको भन्दै एमालेले झुटो दाबी गरिएको जस्तो ‘कार्ड कूटनीति’ नभएको स्पष्ट समेत पारेको छ।
नेकपा एमाले भारत र चीन दुवैसँग नेपालको सन्तुलित सम्बन्ध कायम गर्ने प्रतिबद्धता दोहोर्याउँदै पुष्पकमल दाहाललाई आफ्ना गैरजिम्मेवारपूर्ण अभिव्यक्ति फिर्ता लिन र नेपाली जनतासँग माफी माग्न पनि एमालेले आग्रह गरेको छ ।