१ मंसिर, काठमाडौं । नौवस्ता औद्योगिक क्षेत्रमा प्राथमिकताका साथ पूर्वाधार निर्माण गर्न सरकार गम्भीर रहेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी बताएका छन् ।
प्रेस चौतारी बाँकेले शनिबार आयोजना गरेको कार्यक्रममा उनले उद्योग क्षेत्रको विकासका लागि भौतिक पूर्वाधार पूर्वसर्त भएकाले तिनको निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताए ।
मन्त्री भण्डारीले केही ठूला र मझौला उद्योग बढ्दै गएका बताउदै रुग्ण उद्योगको संरक्षण सरकारको दायित्व रहेको बताए ।
लगानी प्रवर्द्धन गर्दै विदेशी लगानी आकर्षित गर्न निजीक्षेत्रसँगको साझेदारीलाई जोड दिइएको उनले बताए । उनले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा केन्द्रित रहेर काम गरिरहेको बताए ।
फरक प्रसङ्गमा उनले संविधान संशोधनका विषयमा पनि सत्तासाझेदार दलबाहेकका अन्य राजनीतिक शक्तिहरूसँग विमर्श गरिने बताए ।