|  

काठमाडौंमा विद्यार्थी बनेर होस्टल पसेर चोरी गर्ने २ जना पक्राउ 

४ मंसिर, काठमाडौं । विद्यार्थी बनेर होस्टलमा पस्ने र खुल्ला कोठामा पसी ल्यापटप चोरेर भाग्ने दुई जना पक्राउ परेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त बानेश्वरको टोलीले ल्यापटप चोरीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा छब्बिस पाथीभरा गाउँपालिका-३ बझाङ घर भई हाल काठमाडौं बस्ने २१ वर्षीय भीमबहादुर सिंह र सोही ठाउँका २१ वर्षीय कुम्भराज उपाध्याय रहेका छन्।

प्रहरी वृत्त बानेश्वरले दिएको जानकारीअनुसार यो समूह काठमाडौंमा ल्यापटप चोरीमा संलग्न छ । उनीहरूले विभिन्न होस्टलमा जाने र आफू त्यहाँ बस्ने विद्यार्थीको साथी तथा आफन्त भएको बताउँदै होस्टलको कोठामा प्रवेश गर्ने गर्थे । होस्टलमा साँचो नलगाई खुल्ला छाडेका कोठामा यिनीहरू प्रवेश गर्ने र त्यहाँ रहेको ल्यापटप, म्याकबुक, गितार, आइपड, मोबाइलजस्ता महँगा सामान लिएर हिँड्ने गरेका थिए ।

प्रहरीले यिनीहरूको साथबाट ७ वटा ल्यापटप, गितार, ३ वटा मोबाइल बरामद गरेको छ।प्रहरीका अनुसार केही समयअघिदेखि होस्टलबाटै ल्यापटप चोरी भएको भन्दै प्रहरीकहाँ उजुरी आएको थियो । उजुरीको अनुसन्धान गर्ने क्रममा सम्बन्धित होस्टलको सीसीटीभी फुटेज चेक गर्ने क्रममा प्रहरी ल्यापटप चोर्ने गिरोहसम्म पुगेको हो ।

प्रहरी वृत्त बानेश्वरका डीएसपी वीरेन्द्र गोदारका अनुसार होस्टलबाट चोरी गरेर ल्याएको ल्यापटप उनीहरूले अनलाइनमा सस्तो रकममा बेच्ने गर्थे । प्रहरीसँगको प्रारम्भिक बयानमा क्रममा पक्राउ परेका भीमबहादुर सिंहले चोरी गरेका पाँचवटा ल्यापटप बिक्री गरेको बताएका छन् । उनीहरूले अनलाइनका विभिन्न साइटमा गएर २० हजारदेखि ४० हजारसम्ममा ल्यापटप बिक्री गर्ने गरेका थिए।