|  

चालु आवको चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत भारत निर्यात

०५ मंसिर, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिनामा १२ अर्ब ७२ करोड रुपैयाँको विद्युत भारत निर्यात भएको छ ।

नेपाल विद्युत प्राधिकरणले चालु आवको साउन, भदौ, असोज र कात्तिक महिनामा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँको विद्युत भारततर्फ निर्यात गरेको हो । भारततर्फ निर्यात गरेको १ अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट विद्युत देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत हो । चार महिनामा भारततर्फ निर्यात गरिएको विद्युतको औसतदर प्रतियुनिट ७ रुपैयाँ ६३ पैसा छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्धिपक्षीय मध्यकालीन विद्युत बिक्री सम्झौताबमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ । भारतको प्रसारण संरचनाको प्रयोग गरी बंगलादेशमा पनि विद्युत निर्यात सुरु भइसकेको छ । भारतसँगको विद्युत व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने गरेको छ । त्यसैले प्राधिकरणले विद्युत बिक्री गरी भारु आम्दानी गरिरहेको छ ।