|  

लोकतन्त्रप्रति भरोसा जगाउन शासन प्रणाली पारदर्शी र सुशासन अनिवार्य हुनुपर्नेमा राष्ट्रपतिको जोड

०५ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रप्रति भरोसा जगाउन शासन प्रणाली पारदर्शी र सुशासन अनिवार्य हुनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित महेन्द्रनारायण निधिको संघर्षमय जीवनीमा आधारित नेपालका निधि नामक पुस्तक लोकार्पण गर्दै उनले जनतामा भरोसा जगाउनका लागि शासन प्रणाली पारदर्शी जवाफदेही र सुशासन पहिलो शर्त भएको बताएका हुन् । उनले समाजमा पछाडि परेका क्षेत्र र वर्गको हित अनि आम नागरिकको जीवनस्तर सुधार गरेर यही व्यवस्थामा मात्रै मेरो भविश्य सुरक्षित छ भन्ने जनतालाई भरोसा जागृत गराउनु संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य भएको बताए । उनले भने,‘सत्ता र शक्तिमा बस्नेका कमजोरीले लोकतन्त्रका शाश्वत मूल्य मान्यता अनि पवित्रतालाई धुमिल बनाउजे अवस्था आउन दिन हुँदैछ । यो कुरामा ध्यान दिन सके नै लोकतन्त्रको मूल्यमा कसैसँग सम्झौता नगर्ने निधिजी लगायतका अग्रजहरूप्रति सच्चा सम्मान हुनेछ भन्ने पनि म ठान्दछु ।’

राष्ट्रपति पौडेलले महेन्द्रनारायण निधिका बहुआयामिक व्यक्तित्व, नेपालमा लोकतन्त्र स्थापना र पुनःस्थापना तथा सामाजिक, सांस्कृतिक जागरणबारे जान्न र बुझ्न चाहनेका लागि पनि संग्रहणीय सामग्री हुने स्पष्ट पारे । उनले महेन्द्रनारायण निधि बीपी कोइराला र समाजवादी नेता डा। राममनोहर लोहियाका चिन्तनबाट प्रभावित भएका महेन्द्रनारायण निधि नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी व्यक्ति भएको बताउँदै देशको राजनीति, आर्थिक र सामाजिक परिवर्तनका लागि आफ्नो जीवन समर्पित गरेको स्मरण गरेका छन् ।