०५ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले खेल कूटनीतिको विकास र विस्तारका लागि आवश्यक सहयोग पु¥याउन सम्बद्ध निकायहरुलाई आग्रह गरेकी छन् ।
परराष्ट्र मन्त्रालयमा आज आयोजित साहसिक खेलसम्बन्धी उच्चस्तरीय परामर्श बैठकमा उनले नेपाल सरकारका खेल एवं साहसिक खेल क्षेत्रसँग सम्बद्ध मन्त्रालय, विभाग एवं पदाधिकारीहरुलाई यस्तो आग्रह गरेकी हुन् । नेपालमा साहसिक खेलका माध्यमबाट पनि खेल कूटनीतिको विकास र विस्तारका प्रशस्त सम्भावना रहेको उनको भनाई छ । अहिले खेलकुदको आकर्षण र महत्व विश्वव्यापी रुपमा बढ्दै गएकाले अन्य क्षेत्रहरुजस्तै खेलका माध्यमबाट पनि नेपालले आफ्ना कूटनीतिक प्रयास र पहलहरुलाई अगाडि बढाउन सक्ने उनको भनाइ छ । उनले नेपालमा माउन्टनेयरिङ, र्याफ्टिङ आदि क्षेत्रका साहसिक खेलमा विश्वकै पर्यटकको रुचि बढ्दो देखिएको र यी क्षेत्रमा तालिम एवं कोर्षको व्यवस्थासमेत रहेकाले यसका माध्यमबाट पर्यटक भित्र्याई आर्थिक कूटनीतिका क्षेत्रमा ठूलो योगदान पु¥याउन सकिने बताइन ।
उनले खेलकुदलाई सांस्कृतिक पहिचानको प्रवद्र्धन गर्ने माध्यमका रुपमा विकास गर्नुपर्ने धारणा राख्दै नेपालको भौगोलिक अवस्थिति र प्राकृतिक सम्पदाका कारण यहाँ रहेको साहसिक खेलको सम्भावनालाई विश्वमै उजागर गर्न आवश्यक रहेको धारणा राखिन । गत अक्टोबरमा कतारको दोहामा आयोजना भएको एसिडी (एसियन कोअपरेसन डायलग) को तेस्रो सम्मेलनमा खेल कूटनीतिलाई प्रमुख विषयका रुपमा राखिएको र नेपालले पनि खेल कूटनीतिको प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गरेकाले यसै विषयमा आवश्यक परामर्श एवं छलफल गर्न सम्बद्ध मन्त्रालय एवं निकायहरुसँग आज सो बैठक राखिएको थियो । बैठकमा परराष्ट्र, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकुद मन्त्रालयका सचिवहरु, पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न व्यावसायिक सङ्घसंस्थाहरुले पनि नेपालमा साहसिक खेलका सम्भावना, आवश्यकता र चुनौतीका विषयमा सुझाव दिएका थिए ।