०६ मंसिर, काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले वातावरणमैत्री र प्रकृतिमैत्री प्रविधिको प्रयोग गरेर विकास निर्माणका काम गर्नुपर्नेमा जोड दिएका छन् ।
काठमाडौंमा आज प्रादेशिक र स्थानीय सडक सुधार कार्यक्रमको एमओयु हस्ताक्षर कार्यक्रममा उपप्रधानमन्त्री सिंहले यस्तो जोड दिएका हुन् । उनले स्थानीय तहहरूले विकास निर्माणका नाममा जथाभावी डोजरलगायतका मेसिन प्रयोग गर्ने कार्य घातक भएको भन्दै उनले जथाभावी सडक तथा बाटो निर्माण गर्दा बाढी पहिरोजस्ता प्राकृतिक विपद्हरूको सामना गर्नुपरेको बताए । उनले गत असोजमा आएको बाढी, पहिरोले बाटो र सडक निर्माण गर्नु मात्र विकास र समस्याको समाधान होइन भन्ने पुष्टि गरेको बताएका छन ।
नेपालको भौगोलिक अवस्थितिको अध्ययन गरेर मात्र विकास निर्माणका काम गर्नुपर्ने भन्दै हतारमा मेसिनको प्रयोग गर्नु घातक हुने सिंहको भनाइ छ । नेपालमा सडक तथा बाटो निर्माण गर्दा मेसिनहरूभन्दा जनशक्ति उपयोग गरेर निर्माण गर्दा दिगो एवं प्रकृतिमैत्री हुने उपप्रधानमन्त्री सिंहको भनाइ छ ।