|  

सहकारी ठगी प्रकरणः छविलाल जोशीको बयान जारी 

०६ मंसिर, काठमाडौं। सहकारी ठगी प्रकरणमा जोडिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको बयान जारी छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा उनको बयान भइरहेको छ । मंगलबार साँझ पोखराबाट काठमाडौं ल्याइएका जोशीको हिजोबाट बयान लिन सुरु गरिएको हो । भोलिसम्म जोशीको बयान सकेर पोखरा फिर्ता पठाउने तयारी प्रहरीको तयारी छ । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमै पक्राउ पूर्जी जारी भएपछि पोखराबाट कुमार रम्तेललाई काठमाडौं झिकाएर बयान गरिएको थियो । शनिबार काठमाडौं ल्याइएका रम्तेललाई बयान सकेर मंगलबार फिर्ता गरिएको थियो । जोशीको बयान सकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि काठमाडौं झिकाइने बताइएको छ ।

६४५ बचतकर्ताले जाहेरी दिएपछि यो सहकारी ठगीको प्रहरी वृत्त कालीमाटीले अनुसन्धान सुरु भएको थियो । अहिले जिल्ला प्रहरी परिसरले कालीमाटीबाट फाइल झिकाएर अनुसन्धान गरिरहेको छ । स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड रकम अपचलन भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

जोशी ६ असोज र लामिछाने २ कात्तिकदेखि प्रहरी हिरासतमा छन् । उनीहरुमाथि पोखराको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारीमा पनि अनुसन्धान भइरहेको छ ।