|  

मेडिसिटी अस्पतालका चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको आफन्तको आरोप 

०६ असोज, काठमाडौं । ललितपुर भैंसेपाटीको मेडिसिटी अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका एक युवाको उपचारको क्रममा मृत्यु भएको छ ।

इलामका ३८ वर्षीय सरोज सुब्बा (लिम्बू)को उपचारको क्रममा मृत्यु भएपछि आफन्तले चिकित्सकले लापरबाही गरेको आरोप लगाएका छन् । सुब्बाको ६ असोजमा मेडिसिटी अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपण गरेको एक हप्तापछि उनी अस्पतालबाट डिस्चार्ज भएका थिए । डिस्चार्ज भएको केही दिनपछि सरोजको स्वास्थ्यमा समस्या देखिन थाल्यो । हप्ता-हप्ता दिनमा फलोअप उपचार गराउँदै आएका सरोजको यहि मंसिर १ गते मृत्यु भएको थियो । तर आफन्तले भने चिकित्सकले परिवारसँग परामर्श नै नगरी सरोजको शरीरबाट मिर्गौला झिकेको भन्दै शव बुझ्न अस्वीकार गरेका छन् । मृतकका आफन्त कुमार राईले सरोजको फलोअप उपचारका क्रममा चिकित्सकले आफूहरुलाई जानकारी नै नदिई शरीरबाट मिर्गौला झिकेको बताए ।

यता, उपचारमा संलग्न चिकित्सकले भने आफन्तले लगाएको आरोप गलत भएको दाबी गरेका छन्। मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले सफलतापूर्वक प्रत्यारोपण भएको भन्दै स्वास्थ्य अवस्था सामान्य भएपछि बिरामीलाई घर पठाइएको जानकारी दिए । उनले बिरामी बेला-बेलामा फलोअपमा आइरहेपनि एक्कासी मिर्गौलाबाट रगत बन्न थालेको र मिर्गौला जोडिएको नली फुल्दै गएपछि  उक्त नली अपरेशन गरेर जोगाउन खोज्दा सम्भव नभएको बताए । रगत लैजाने नलीलाई काटेर मिलाउन सम्भव नभएपछि प्रत्यारोपण गरिएको मिर्गौला निकाल्नुपरेको उनको भनाई छ ।  बिरामीको ज्यान जोगाउने विकल्पको रुपमा मिर्गौला निकाल्न परिवारकै सदस्यसँग परामर्श भएको उनले दाबी गरे ।