०६ मंसिर, काठमाडौं । आजबाट हुने आईक्यापको १२ औं अधिवेशनमा भाग लिन १४ नेता कम्बोडिया गएको भन्दै सामाजिक सञ्जालमा टिप्पणी भइरहेको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कम्बोडियामा प्रधानमन्त्री केपी शर्मा ओलीको अर्बौं लगानी रहेको दाबीसहित फेक डकुमेन्टसहित दुष्प्रचार गरेपछि उनी पक्राउ परिसकेका छन् । तर यही मेसोमा नेताहरू कम्बोडिया गएको भन्दै सामाजिक सञ्जालमा टिप्पणी भइरहेको हो । कम्बोडिया जाने नेताहरूमा एमालेबाट राजन भट्टराई, र रघुवीर महासेठ छन् । राजन भट्टराई एमाले विदेश विभागका पूर्वप्रमुख हुन भने महासेठ हालका विदेश विभाग प्रमुख हुन् ।
त्यस्तै, भ्रमण टोलीमा कांग्रेसकी नेतृ तथा पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइराला र पूर्वसांसद दिव्यमणि राजभण्डारी, माओवादीका अग्नी सापकोटा र गोकर्णप्रसाद भाट, राप्रपा नेता उद्धव पौडेल र केदारबहादुर अधिकारी, जनमतका सीके राउतलगायत पनि भ्रमण टोलीमा रहेका छन् ।