०६ मंसिर, काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ओप्पोले विश्व बजारमा फाइन्ड एक्स ८ सिरिज सार्वजनिक गरेको छ ।
आज इन्डोनेसियाको राजधानी बालीमा एक कार्यक्रम आयोजना गर्दै कम्पनीले एक्स ८ सिरिज सार्वजनिक गरेको हो ।कम्पनीले फाइन्ड एक्स ८ सिरिज अन्तर्गत एक्स ८ र एक्स ८ प्रो बजारमा ल्याएको छ । एक्स ८ मा ६।५९ इन्चको एलटीपीओ ओलेड डिस्प्ले रहेको छ भने यसमा १ देखि १२० हर्ज रिफ्रेश रेटसम्म एडजस्ट गर्न सकिने विशेषता छ । यसो हुँदा अनावश्यक रूपमा हुने ब्याट्री खपत जोगिन्छ । र, चार्ज लामो समयसम्म टिक्छ । त्यस्तै प्रो मोडेलमा ६।७८ इन्चको डिस्प्ले छ भने ५,९१० एमएएच क्षमताको ब्याट्री दिइएको छ । यसमा मिडिया टेक डाइमेन्सिटी ९४०० एसओसी चिपसेट समावेश छ । मिडिया टेक चिपसेटको सन्दर्भमा यो नै अहिलेसम्मको सबैभन्दा शक्तिशाली चिपसेट हो । यो फोन एन्ड्रोइड १५ मा आधारित कलरओएस १५ मा सञ्चालित छ ।
यस सिरिजमा प्रिमियम ग्लास मेटल स्यानविच डिजाइन रहेको छ । बेजल्स पनि अलि घुमाउरो किसिमको छ । एक्स ८ मोडेलमा आईफोन १६ जस्तो चौडा प्यानल भएको स्क्रिन छ भने एक्स ९ प्रोमा फोरडी कर्भ्ड डिस्प्ले रहेको छ । अर्थात् आईफोन १६ सिरिजभन्दा एक्स ८ प्रोकोमा स्तरीय डिस्प्ले रहेको छ । यसको रिफ्रेश रेट १२० हर्ज रहेको छ भने डिस्प्लेमै फिङ्गरप्रिन्ट सेन्सर दिइएको छ । आईफोन १६ को प्रो मोडेलमा मात्र १२० हर्ज रिफ्रेश रेटको डिस्प्ले छ । यसलाई एप्पलले प्रो मोसन डिस्प्ले नाम दिएको छ । एक्स ८ सिरिजको रोचक पक्ष के छ भने यसमा आईफोन १६ जस्तो क्यामेरा बटन पनि दिइएको छ । यसलाई कम्पनीले क्विक बटनको नाम दिएको छ । क्यामेरा एप खोल्न, जुम इन र जुम आउट गर्न, फोकस गर्न यो बटन प्रयोग गर्न सकिन्छ । बजारमा उपलब्ध स्मार्टफोन मध्ये केहीमा मात्र दुई ओटा टेलिफोटो लेन्स रहेका छन् । ती स्मार्टफोनको सूचीमा एक्स ८ प्रो पनि पर्छ । यसमा एउटा थ्री एक्स र अर्को सिक्स एक्स टेलिफोटो लेन्स रहेको छ । यसमा दुई ओटा पेरिस्कोप क्यामेरा सिस्टम रहेका छन् ।
यसैमा ट्रिपल प्रिज्म फोल्ड रिफ्लेक्सन सिस्टम पनि समावेश छ । फाइन्ड एक्स ८ मा तीन ओटा ५० मेगापिक्सेलका क्यामेरा छन् भने एक्स ८ प्रोमा चार ओटा ५० मेगापिक्सेलका क्यामेरा छन् । यस सिरिजमा ‘श्याडोलेस स्न्यापशट’ नामक फिचर पनि रहेको छ । यसको सहायतले स्पष्ट, ब्लर बनाएको फोटो खिच्न सकिन्छ । त्यसका लागि अतिरिक्त सेटिङहरू चलाउनु पर्ने बाध्यता हुँदैन । फोटोलाई स्तरीय बनाउन कम्पनीले विभिन्न एआई फिचर पनि समावेश गरेको छ । यसमा आईफोनमा हुने भिजुअल लुकअप र गुगल लेन्स जस्तो फिचर पनि समावेश गरिएको छ । यसको अर्थ तपाईंले फोनमा केही फोटो खिच्नुभयो र त्यसमा के के विषय समावेश छ भन्ने चाहनु भयो भने उक्त एआई फिचर प्रयोग गर्न सक्नुहुन्छ । यस सिरिजले ८० वाट वायर र ५० वाट वायरलेस चार्जिङ सपोर्ट गर्छ । पानी र धुलोबाट जोगाउन यसले आईपी ६८ र आईपी ६९ के रेटिङ पाएको छ । एक्स ८ सिरिजले ओप्पोको म्याग एक्सेसरिज सपोर्ट गर्छ । तर, त्यसका लागि विशेष किसिमको छुट्टै कभर किन्नुपर्ने हुन्छ ।
यसको एक्सेसरिजमा ८० वाट क्षमता भएको २० हजार एमएएच पावर बैंङ्क रहेको छ । यसले ५० वाट वायरलेस चार्जरको काम गर्न सक्छ भने तातिएको बेला चिसो बनाउन फ्यान पनि समावेश गरिएको छ । एक्स ८, १२ जीबी र्याम र २५६ जीबी आन्तरिक स्टोरेज र १६ जीबी र्याम तथा २५६ जीबी स्टोरेज भेरियन्टमा खरिद गर्न सकिन्छ । त्यस्तै एक्स ८ प्रो भने १६ जीबी र्याम तथा ५१२ जीबी स्टोरेज भेरियन्टमा पाउन सकिन्छ । बेस भेरियन्टको सुरुवाति मूल्य ८७८ डलर ९करिब एक लाख १८ हजार रुपैयाँ० रहेको छ । प्रो मोडेल भने १,२२५ डलर ९करिब एक लाख ६५ हजार रुपैयाँ० तोकिएको छ । यो फोन छिट्टै एसियाली बजारमा पनि उपलब्ध हुने बताइएको छ ।