|  

मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु

६ मंसिर, काठमाडौं ।   मोरङको उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा बिहीबार दिउसो मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०५० प ८४०६ र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोरङको पथरीशनिश्चरे नगरपालिका–५ का ३३ वर्षीय वर्षीय दीपक धिमाल र कानेपोखरी गाउँपालिका–४ रमाइलोका अन्दाजी २८ वर्षीय किशोर गुरुङको मृत्यु भएको हो। दुर्घटनामा परेर गम्भीर घाइते भएपछि उपचारका लागि धिमाललाई उर्लाबारीकै अरनिको अस्पताल र गुरुङलाई मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएकोमा उनीहरूको उपचारकै क्रममा ज्यान गएको हो।

दुर्घटनामा कानेपोखरी–४ का अन्दाजी २६ वर्षीय अमृत लिम्बू र पथरीशनिश्चरे–५ का ३८ वर्षीय विष्णु धिमाल घाइतेका छन्।उनीहरूको उर्लाबारीमा सम्भव नभएपछि उनीहरूलाई थप उपचारका लागि झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएको छ।