७ मंसिर, काठमाडौं । नेकपा (एमाले)ले आज सडकमा शक्ति प्रदर्शन गर्दैछ ।
एमालेले आज काठमाडौंको दरबारमार्गमा ‘जागरण सभा’ गर्न लागेको हो । बिहान साढे ११ बजे काठमाडौंको भद्रकालीबाट शुरू हुने जुलुस न्युरोड गेट, वीर हस्पिटल, रत्नपार्क, त्रिचन्द्र क्याम्पसको अगाडिबाट दरबारमार्गमा पुगेर कोणसभामा परिणत हुनेछ ।
काठमाडौं, ललितपुर र भक्तपुर ३ जिल्लाको संयुक्त आयोजनामा हुने सभामा १ लाख नेता कार्यकर्ता उतार्ने दाबी एमालेको छ । जागरण सभा संयोजन समितिका संयोजक डा. राजन भट्टराईले अराजकताविरुद्ध र स्थिरताको पक्षमा जनमत निर्माणका लागि जागरण सभा गर्न लागेको जानकारी दिए ।
मुलुकमा बढ्दो अराजकता र अस्थिरताका विरुद्ध लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुशासन, समृद्धि र विकासका लागि विधिको शासन र कानूनी राजका पक्षमा जनमत निर्माण गर्न जागरण सभा आयोजना गरिएको उनले बताए ।