७ मंसिर, काठमाडौं । आज काठमाडौंका विभिन्न तीन ठाउँमा विभिन्न समूहले प्रदर्शन गर्दैछ ।
माइतीघरमा केही दिन अघिदेखि नै सहकारी पीडितहरूको प्रदर्शन जारी छ। आज नेकपा एमाले र मेडिकल व्यवसायी दुर्गा प्रसाईँ समूहले काठमाडौंमै प्रदर्शन गर्दैछन् । एमालेले दरबारमार्गमा गर्ने जागरण सभाका लागि भद्रकालीबाट र्याली निकालेर सुन्धारा, वीर अस्पताल, रत्नपार्क घन्टाघर हुँदै दरबारमार्ग पुग्नेछ ।
त्यस्तै दुर्गा प्रसाईँ समूहको प्रदर्शन कोटेश्वरमा हुँदैछ । एकैदिन तीन ठाउँमा फरक फरक समूहको प्रदर्शन हुने भएपछि शुक्रबार काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
तीन ठाउँमा प्रदर्शन हुन लागेकाले आम नागरिकको जनजीवन सहज र सुरक्षित बनाउन शुक्रबार ५ हजार भन्दा बढी प्रहरी र ट्राफिक व्यवस्थापन सहज बनाउन ५ सयभन्दा बढी ट्राफिक प्रहरी खटाइने छ ।
त्यसमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिनेछन्।