०७ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कानुन विपरीत काम र अपराध गर्नेलाई सरकारले नछाड्ने चेतावनी दिएका छन् ।
नेकपा (एमाले) का काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला कमिटीले आज दरबारमार्गमा आयोजना गरेको जागरण सभामा सम्बोधन गर्दै एमालेका अध्यक्ष समेत रहेका ओलीले यस्तो चेतावनी दिएका हुन् । उनले स्थिरता र सुशासनका लागि सोच, विचार गरेरै एमाले र नेपाली काङ्ग्रेस मिलेर सरकार बनाएकाले सरकार त्यस्ता गलत कार्यलाई नियन्त्रण गर्न सक्षम रहेको बताए । आफूहरुविरुद्ध अनेक हल्ला चलाइए पनि एमाले भ्रमको पछि नदौडने भन्दै उनले कागले कान लग्यो भन्दैमा कागका पछिपछि आकाशतर्फ हेरेर दौडन आवश्यक नरहेको बताए ।
प्रधानमन्त्री ओलीले आफ्ना सन्तानलाई अकुत सम्पत्ति थुपारेर अरबौँका मालिक बनेकाहरूले आफ्नो विरुद्ध आरोप लगाउँदै हिँडेका भन्दै आफूमाथि भ्रष्टाचारको औँला ठड्याउनेलाई बहसमा आउन चुनौती दिए । अहिलेको समीकरण र सरकारलाई कसैले हल्लाउन नसक्ने बताउँदै प्रधानमन्त्री ओलीले अहिलेको सरकार समाज र समुदायबीच अनेक खालका विद्वेष फैलाउने कार्यलाई निरुत्साहित गर्न लाग्ने बताए । बैङ्कको ऋण तिर्नु पर्दैन भन्नेहरूले देशको अर्थतन्त्रलाई ध्वस्त बनाउने उल्लेख गर्दै उनले उद्योगबाट बिलबमोजिम बक्यौता नउठाउने तर बिजुलीको लाइन काट्ने काम पनि देशको अर्थतन्त्र ध्वस्त पार्न खोज्ने शक्तिले गरेको दाबी गरे ।