०७ मंसिर, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सरकारले जनतामा आशा जगाउने काम गरिरहेको दाबी गरेका छन् ।
नेकपा एमाले बाँके जिल्ला कमिटीको आयोजनामा आज नेपालगञ्जमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री अधिकारीले यस्तो दाबी गरेका हुन् । उनले वर्तमान सरकारसँग आम जनताको तहबाट देखिएको आशालाई पूरा गरेर छोड्ने प्रतिबद्धता ब्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन अनुसार मन्त्रालयहरु जनताको आशा र अपेक्षा पूरा गर्न लागिपरेको बताए ।
सहकारीको क्षेत्रमा देखिएको समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताउँदै उनले समस्याग्रस्त सहकारीको वर्गिकरणको काम भइरहेको बताए । उनले सङ्घ र प्रदेश अन्तर्गत रहेका सहकारीको पहिचान गरी उनीहरुको अवस्था बुझ्न बलियो नियमावली निर्माण गर्न आवश्यक देखिएको बताए । केही समस्याग्रस्त सहकारीका कारण राम्रो काम गरेका सहकारीहरु पनि बदनाम भइरहेकाले सहकारीको स्पष्ट वर्गीकरण आवश्यक देखिएको उनको भनाई छ ।