०७ मंसिर, काठमाडौं । सत्तारूढ दल नेपाली काँग्रेसले नेकपा एमालेलाई गालीगलौज गरेर नबिच्क्याउन मातहतका समितिलाई निर्देशन दिएको छ ।
मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि कांग्रेसले १५ बुँदे आन्तरिक सर्कुलर जारी गर्दै यस्तो निर्देशन दिएको छ । सर्कुलर मार्फत कांग्रेसले सहकारी ठगीमा परेका नागरिकको बचत फिर्ता र दोषीलाई दण्ड दिलाउने प्रतिबद्धता मतदातासमक्ष जनाउन पनि भनेको छ । यो सर्कुलर स्थानीय तह निर्वाचन हुने सबै तहका वडा, पालिका, प्रदेश तथा प्रतिनिधिसभा क्षेत्र, जिल्ला र प्रदेश कार्यसमितिलाई पठाइएको छ । जसमा दलहरू बिच सद्भाव र सामाजिक एकताको विषय मुख्य रूपमा राखिएको छ ।
केन्द्रीय उपनिर्वाचन परिचालन समिति संयोजकसमेत रहेका महामन्त्री विश्वप्रकाश शर्माद्वारा जारी सर्कुलरमा नेकपा एमालेसँग सत्ता सहकार्यको विषय पनि समावेश छ । अर्थात कांग्रेसले सत्तामा भएको गठबन्धनलाई असर नगर्ने गरी चुनावी अभियानलाई अघि बढाउने र आफ्नो मुख्य प्रतिस्पर्धी एमालेलाई पनि नबिच्क्याउने नीति लिएको छ । यही मंसिर १६ गते ३३ जिल्लाका रिक्त ४४ स्थानीय पदका लागि उपनिर्वाचन हुँदैछ । त्यसमध्ये ओखलढुंगा र कैलालीमा कांग्रेसका उम्मेदवार जिल्ला समन्वय समितिमा निर्विरोध निर्वाचित भइसकेका छन् ।