७ मंसिर, काठमाडौं । नेपालको पाँच दिने औपचारिक भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।
शुक्रबार दिउँसो साढे चार बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री ओलीसँग द्विवेदीले भेटवार्ता गरेका हुन्।
भेटमा प्रधानमन्त्री ओलीले नेपाल र भारतका सेनापतिबीच मानार्थ महारथीको आदानप्रदानको मौलिक परम्पराको निरन्तरता भएकामा खुसी व्यक्त गरे । उनले दुई मुलुकबीचको सहकार्य र सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए।
सेनाध्यक्ष द्विवेदीले नेपाली सेनाको मानार्थ सेनापति हुन पाउँदा गर्वको महसुस गर्दै आफूलाई भाग्यमानी ठानेको बताउँदै दुई देशको सम्बन्धलाई थप विस्तारमा आफूले सक्दो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
स्थल सेनाध्यक्ष द्विवेदीले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह ग्रहण गरेका थिए।