|  

रविलाई म्याद थपको अवस्था हेरेर काठमाडौं झिकाइने तयारी

०७ मंसिर, काठमाडौं । सहकारी रकम अपचलन प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी बञ्जाडेलाई कास्की पठाइएको छ ।

गोरखा मिडिया नेटवर्कका पूर्व सञ्चालक समेत रहेका जोशीको बिहीबार जिल्ला सरकारी वकिल कार्यालयमा बयान सकिएपछि आज साँझ जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको हो । सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका जोशीविरुद्ध काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलन गरेको आरोप छ । जोशीलाई स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा गत मंगलबार काठमाडौं झिकाइएको थियो । 

यही प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि यतिबेला कास्की प्रहरीको हिरासतमा छन । उनी कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । स्वर्णलक्ष्मी सहकारी प्रकरणमा लामिछानेविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । कास्कीले रविविरुद्ध गरेको अनुसन्धानका लागि अदालतबाट म्याद लिएको १३ दिन आइतबार सकिँदैछ । म्याद थपको अवस्था हेरेर उनलाई पनि काठमाडौं झिकाइने प्रहरीको तयारी छ । 

यही प्रकरणमा जोडिएका कुमार रम्तेलसँग केही दिन पहिले बयान लिएर पोखरा पठाइएको छ । रवि र छविसहित १० जनाविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय चितवनमा समेत पूरक जाहेरी परेको छ ।