|  

बालेन शाह एमालेविरुद्ध परिचालित छन्ः  शंकर पोखरेल

८ मंसिर, काठमाडौं ।  नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह एमालेविरुद्ध परिचालित भएको आरोप लगाएका छन् ।

शुक्रबार दरबारमार्गमा एमालेले आयोजना गरेको सभामा फोहोर गरेको भन्दै महानगरपालिकाले एक लाख जरिवाना गरेपछि महासचिव पोख्रेलले यस्तो आरोप लगाएका हुन् ।

उनले सामाजिक संजालमार्फत लेखेका छन ‘काठमाडौं महानगरका मेयर बालेन नेकपा (एमाले)का विरुद्ध परिचालित छन् भन्ने कुरा आजको सभापछि सार्वजनिक गरिएको जरिवाना पर्चाबाट बुझ्न सकिन्छ,’ ‘कार्यक्रम समापन भएपछि त्यहाँको सरसफाइ आयोजकका तर्फबाटै भइरहेको थियो ।

संकलन गरिएको भएको फोहर उठाउनका लागि महानगरलाई गाडी पठाइदिन अनुरोध गरिएको थियो । अनुरोधलाई स्वीकार गरेर सहयोग गर्नुको साटो फोहर गरेको भनेर जरिवानाको प्रचार गरियो मेयरको निर्देशनमा।’

महानगरले जरिवाना पर्चा सार्वजनिक गरेको समयमा  स्वयंमसेवकहरु कार्यक्रमस्थलमै फोहर संकलन गरेर गाडीमा राखिरहेको, मञ्च  र मञ्चमा प्रयोग गरिएका सामग्री हटाउने काम भइरहेको उनले बताएका छन् । ‘तर पनि मेयरको ध्यान सरसफाइमा नभई जरिवानाको स्टण्टबाजीमा थियो । जुन समय अगावै सार्वजनिक गरियो’, उनले लेखेका छन् ।