८ मंसिर, काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यको स्यानटिली सहरमा सवारी साधन दुर्घटना हुँदा २ जना नेपाली युवकको मृत्यु भएको छ ।
२ युवकको मृत्यु भएको घटनामा चालकलाई ज्यान मार्ने उद्योग मुद्दा चलाइएको छ ।लाउडन काउन्टी शेरिफको कार्यालयले चालकको नाम सार्वजनिक गरेको छ । शेरिफको कार्यालयले मादक पदार्थ सेवन गरि गाडी कुदाउने चालक भर्जिनिया अल्डी शहरका ३० वर्षीय नेपाली मूलका विजय तामाङ भएको जनाएको छ ।
३० वर्षीय तामाङलाई अनैच्छिक हत्या गरेको अभियोग लगाइएको छ । अन्वेषकहरूले दुर्घटनाको कारण रक्सी भएको विश्वास गरेका छन् भने थप आरोपहरू विचाराधीनमा समेत रहेको जनाएका छन् ।
भर्जिनियाको स्यानटिलीमा नोभेम्बर २२ शुक्रबारका दिन बिहान तामाङले चलाएको फोर्ड मस्टाङले रुखलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको र दुई जना घाइते भएको अधिकारीहरूले बताएका छन् । दुर्घटनामा परी मृत्यु भएकाको परिचय खुलाइएको छैन ।