|  

ठगीको आरोप लागेसँगै अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द

८ मंसिर, काठमाडौं ।  अमेरिकामा गौतम अडानीमाथि ठगीको आरोप लागेपछि केन्याले नैरोबी विमानस्थल र ऊर्जा क्षेत्रको विस्तारका लागि अडानी समूहसँगको सम्झौता रद्द गर्ने निर्णय गरेको छ ।

नैरोबीमा अडानी समूहको परियोजनालाई लिएर निकै विवाद भएको थियो । यदि अडानी समूहले केन्यामा विमानस्थल विस्तारको सम्झौता पाएको भए उनीहरूले नैरोबी विमानस्थल ३० वर्षसम्म सञ्चालन गर्ने जिम्मेवारी पाउने थिए । नैरोबी एयरपोर्टका कर्मचारीहरूले अडानीसँगको यो सम्झौताको विरोध गरिरहेका थिए ।

अडानीले विमानस्थल सञ्चालनको काम पाएमा उनीहरूको जागिर खतरामा पर्न सक्ने डर थियो ।बिहीबार केन्याका राष्ट्रपति विलियम रुटोले अडानीसँगको सम्झौता रद्द गर्ने घोषणा गरेका छन् । अडानी इनर्जी सोलुसन्सले अक्टोबरमा केन्या इलेक्ट्रिसिटी ट्रान्समिसन कम्पनीसँग ७४ करोड डलरको सम्झौता गरेको थियो ।यसअन्तर्गत अडानी समूहले चार प्रसारण लाइन र दुईवटा सबस्टेसन निर्माण गर्नुपर्ने थियो ।

बदलामा, अडानी समूहले ३० वर्षसम्म सञ्चालनको जिम्मेवारी पाउने थियो।यसबाहेक अडानी समूह अर्को सम्झौतालाई अन्तिम रूप दिने नजिक थियो । केन्या एयरपोर्ट अथोरिटीसँगको यो सम्झौता एक अर्ब ८२ करोड डलरको थियो ।यसअन्तर्गत अडानी समूहले जोमो केन्याटा अन्तर्राष्ट्रिय विमानस्थल विस्तार गर्नुपर्ने थियो ।