०८ मंसिर, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको समग्र विकास र दिगो पूर्वाधार निर्माणका लागि सबैको सहकार्य अपरिहार्य भएको बताएका छन् ।
कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा आज बिहान जुम्लाको खलङ्गा बजारमा भएको सार्वजनिक सेवा प्रवाहसम्बन्धी छलफल कार्यक्रममा उनले त्यसका लागि संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सबै राजनीतिक दल तथा निर्वाचित जनप्रतिनिधिबीच सहकार्य अपरिहार्य भएको बताएका हुन् । कर्णाली प्रदेशका दश वटै जिल्लाको समृद्धिको परिकल्पना पूरा गर्न एकीकृत योजना र सहकार्यको आवश्यकतामा उनले जोड दिए । जुम्लाको विकासका निम्ति सबै तहका निकाय र राजनीतिक पक्षधारबीच समन्वय जरुरी रहेको भन्दै हरेक योजनामा सहभागी सबै पक्षले सामूहिक जिम्मेवारी लिनुपर्ने उनले बताए । दिगो विकासका लागि समुदायको सक्रिय सहभागिता र सर्वपक्षीय छलफलले मात्र प्रभावकारी परिणाम दिने उनले बताए ।
छलफलमा त्यहाँका आठवटै स्थानीय तहका प्रमुखहरू, प्रदेशसभा सदस्य, सङ्घीय र प्रदेश मातहतका कार्यालय प्रमुख, राजनीतिक दलका प्रतिनिधिहरू र नागरिक समाजका अगुवाहरूको उपस्थिति थियो ।