०८ मंसिर, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा शुरू भएका तीन वटा जलविद्युत आयोजनाको निर्माण सकिएको छ ।
चिलिमे जलविद्युत कम्पनीको अनुवाइमा २७० मेगावाटका चारवटा आयोजना शुरू गरिएकामा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी बाहेक तीन वटा आयोजना सम्पन्न भएका हुन । सबै आयोजना २०७२ सालको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवम् बाढीपहिरोले र्पुयाएको क्षति तथा अवरोध, कमजोर भौगिर्विक अवस्था, मधेश आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या लगायतले प्रभावित भएका थिए । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विभिन्न कारणले जीर्ण बनेका चिलिमेका आयोजना निरन्तरको प्रयासपछि निर्माण सम्पन्न हुनु ठूलो उपलब्धि भएको बताएका छन् ।
तीनै आयोजनाबाट १६८ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको प्राधिकरणले जनाएको छ । यी आयोजनाबाट उत्पादित विद्युत रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित प्राधिकरणले बनाएको २२०/१३२/३३ केभी सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको हो । १४.८ मेगावाटको माथिल्लो साञ्जेन, ४२.५ मेगावाटको साञ्जेन र १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएका हुन । यसमध्ये माथिल्लो साञ्जेन गत वर्षको असोजमा निर्माण सम्पन्न भई व्यावसायिक रुपमा विद्युत उत्पादन गरी हालसम्म करीब ३० करोड रुपैयाँको विद्युत् बिक्री गरिसकेको छ ।
४२.५ मेगावाटको साञ्जेन जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी मंसीर ७ बाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको निर्माण सम्पन्न भई हाल परीक्षणका रुपमा विद्युत उत्पादन गरिरहेको छ । परीक्षण उत्पादन सफल भएपछि साञ्जेन र रसुवागढीको व्यावसायिक रुपमा विद्युत् उत्पादन शुरू हुनेछ । दुवै आयोजनाबाट यही महीनाभित्रमा व्यावसायिक रुपमा विद्युत् उत्पादन हुने प्राधिकरणले जनाएको छ । नदी प्रवाहमा आधारित माथिल्लो साञ्जेन, साञ्जेन र रसुवागढी जलविद्युत आयोजनाबाट हिउँदयाममा करीब ८० मेगावाट मात्र विद्युत उत्पादन हुनेछ ।