०८ मंसिर, काठमाडौं । नेत्रहीन क्रिकेट टी-२० विश्वकपमा नेपाल पहिलो खेलमै श्रीलङ्कासँग पराजित भएको छ ।
श्रीलङ्काले दिएको १ सय ९६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा १ सय २५ रन मात्र बनाउन सक्यो । यसअघि पाकिस्तानमा टस जितेर ब्याटिङ गरेको श्रीलङ्काले ४ विकेट गुमाएर १ सय ९५ रन बनायो । नेपालले दोस्रो खेलमा भोलि बङ्गलादेशसँग, तेस्रो खेलमा पर्सि अफगानिस्तानसँग, चौथो खेलमा आउँदो मङ्गलवार दक्षिण अफ्रिकासँग र पाँचौं खेलमा बुधवार आयोजक पाकिस्तानसँग खेल्नेछ । नेपाल र भारतबीच नोभेम्बर २९ तारिखमा खेल हुने तालिका थियो । तर भारत सहभागी नभएपछि नेपालले वाक ओभर पाएको छ । भारतले आफ्नो टिमलाई पाकिस्तान जान स्वीकृति नदिएपछि भारत सहभागी नहुने भएको हो ।
लिग चरणमा शीर्ष चारमा रहने टोलीले सेमिफाइनल खेल्नेछन् । यो विश्वकप खेल्न हवाई टिकटका लागि रकम अभाव भएपछि नेपाली टोली गाडी र रेल हुँदै पाकिस्तान पुगेको छ । चौथो संस्करणको नेत्रहीन क्रिकेट टी-२० विश्वकप आउँदो डिसेम्बर ३ तारिखसम्म चल्नेछ । खेलहरू लाहोर र मुल्तामा हुनेछन ।