|  

२०८१/८२ को पहिलो चार महिनामा साढे चार खर्ब व्यापार घाटा

८ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा मुलुकले साढे चार खर्बभन्दा बढीको व्यापार घाटा व्यहोरेका छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आवको कात्तिक मसान्तसम्मको वैदेशिक व्यापारको विवरणअनुसार यस अवधिमा रू. पाँच खर्ब १३ अर्ब ३८ करोड ८० लाख बराबरको आयात र रू. ५२ अर्ब ६७ करोड बराबरको निर्यात भएको हो । यसरी कूल रू. पाँच खर्ब ६६ अर्ब पाँच करोड ६७ लाखको वैदेशिक व्यापारमा रू. चार खर्ब ६० अर्ब ७१ करोड ७३ लाख घाटा देखिएको विभागले जनाएको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात शून्य दशमलव १७ र निर्यात चार दशमलव १६ प्रतिशतले बढेको छ । नेपालको सबैभन्दा ठूलो वैदेशिक व्यापार साझेदार भारतसँग मात्र चार महिनामा रू. दुई खर्ब ८१ अर्ब ११ करोड ६६ लाख घाटा व्यहोरेको छ । कात्तिक मसान्तसम्ममा भारतबाट रू. तीन खर्ब १६ अर्ब ८८ करोड ५३ लाख बराबरको वस्तु आयात हुँदा रू. ३५ अर्ब ७६ करोड ८७ लाख बराबरको निर्यात भएको छ । 

त्यस्तै नेपालको अर्को ठूलो वैदेशिक व्यापार हुने मुलुक चीनसँग रू. एक खर्ब तीन अर्ब १८ करोड २५ लाखको आयात र रू. ६८ करोड २३ लाख ७७ हजारको निर्यात हुँदा रू. एक खर्ब दुई अर्ब ५० करोडको व्यापार घाटा देखिएको छ ।  

पहिलो चौमासिकमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा धेरै देखिएको छ । कात्तिक मसान्तसम्ममा रू. २९ अर्ब चार करोड २० लाख बराबरको डिजेल, रू. २१ अर्ब ५६ करोड २९ लाख बराबरको पेट्रोल र रू. १८ अर्ब ८५ करोड ९३ लाख बराबरको एलपी ग्यास आयात भएको छ । त्यस्तै रू. १५ अर्ब ९६ करोड ९२ लाख बराबरको फलामजन्य वस्तु, रू. १३ अर्ब ४० करोड ४८ लाख बराबरको स्मार्टफोन आयात भएको विभागको तथ्यांकबाट देखिन्छ ।

बढी निर्यात भएका वस्तुमा भने कार्पेट पहिलो स्थानमा देखिएको छ । चार महिनामा रू. तीन अर्ब ६० करोड आठ लाख बराबरको कार्पेट निर्यात भएको छ । त्यस्तै सोयाबिन तेल रू. तीन अर्ब ४१ करोड, चिया रू. दुई अर्ब २१ करोड र अलैँची रू. एक अर्ब ९० करोड बराबरको निर्यात भएको छ ।