|  

कैलालीको विवाह समारोहमा प्रवेश गरी झडप गर्ने ६ ब्यक्ति पक्राउ

०९ मंसिर, काठमाडौं । कैलालीको विवाह समारोहमा झडप गर्ने ६ जना पक्राउ परेका छन् ।

उक्त झडपमा तीन जना घाइते भएका छन् । उक्त जिल्लाको बर्दगोरिया गाउँपालिका-६ का केशब नेपालीकी छोरी डम्मराको विवाहमा प्रवेश गरेर कुर्सी तोडफोड गर्ने सुशील बम र घोडाघोडी नगरपालिका-३ का २२ वर्षीय प्रमोद परियारमाथि कुटपिट भएको भनिएको छ । उनीहरू कुटपिटबाट घाइते भएका छन् । बमलाई थप उपचारका लागि कोहलपुर पठाइएको छ । उनको साथबाट चक्कु बरामद गरिएको कैलालीका प्रहरीले जनाएको छ । उनीसँगै विवाहमा लफडा गर्ने दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका-६ बस्ने २२ वर्षीय विशाल जोशी र लम्कीचुहा नगरपालिका-१० बस्ने २२ वर्षीय दिनेश खत्री रहेका छन ।

उता सुख्खडमा विवाहमा रमाइलो गर्ने क्रममा एक किशोरमाथि कुटपिट भएको छ । घोडाघोडी नगरपालिका-७ का ओमबहादुर तिमलाको छोराको विवाहमा रमाउने क्रममा १५ वर्षीय किशोरमाथि कुटपिट भएको प्रहरीले जनाएको छ । उनको धनगढीको निसर्ग अस्पतालमा उपचार भइरहेको छ । कुटपिटको आरोपमा घोडघोडी नगरपालिका-७ का २३ वर्षीय आकाश बिक, २९ वर्षीय मोहन बम, २२ वर्षीय तारेशु बोहरा र  २७ वर्षीय दुर्गा पुनामीमगर पक्राउ परेका छन् ।