|  

कम्बोडियन संसदबाट सभामुख घिमिरेलाई ‘गार्ड अफ अनर’ प्रदान

०९ मंसिर, काठमाडौं । कम्बोडियन संसदले सभामुख देवराज घिमिरेलाई ‘गार्ड अफ अनर’ दिएको छ ।

नेपालको शान्ति प्रक्रियामा प्राप्त गरेको सफलता र संसदबाट हालै संक्रमणकालीन न्याय सम्बन्धी कानुन पारित गरेको भन्दै सभामुख घिमिरेलाई गार्ड अफ अनर दिइएको हो । सभामुख घिमिरे अहिले कम्बोडिया भ्रमणमा छन् । भ्रमणका क्रममा सभामुख घिमिरेले कम्बोडियन समकक्षी तल्लो सदन नेसनल एसेम्ब्लीका अध्यक्षसँग शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा द्विपक्षीय हित, नेपालको शान्ति प्रक्रियाको प्रगति, संसदीय आदान प्रदान लगायतका विषयमा छलफल भएको छ ।

सभामुख घिमिरेले भेटमा नेपालको शान्ति प्रक्रियासँगै समावेशी र प्रगतिशील संरचना निर्माण भएको बताएका छन । नेपालमा सन २००६ मा भएको विस्तृत शान्ति सम्झौताले स्थायित्व ल्याउनुका साथै संविधानसभाबाट संघीयतासहितको समावेशी र प्रगतिशील संरचना बनाउन महत्वपूर्ण योगदान र्पुयाएको उनले बताए । सभामुख घिमिरेले कम्बोडियाले सामाजिक-आर्थिक विकास गरेकोमा खुशी व्यक्त गरेका छन् । सभामुख घिमिरेले नेपाल सरकार र कम्बोडिया सरकारबीच सम्पन्न हवाई सेवा सम्झौताले जनताबीचको सम्पर्कलाई थप वृद्धि गर्ने विश्वास पनि व्यक्त गरेका छन् । सभामुख घिमिरे मंसिर ११ गते स्वदेश फर्किने कार्यक्रम छ ।