|  

 एमालेले बुझेन एक लाख जरिवाना तिराउन काटेको पत्र, आज दोस्रोपटक पत्र पठाउँदै महानगर

९ मंसिर, काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाले एक लाख जरिवाना तोकेको पत्र बुझ्न इन्कार गरेको छ ।

एमालेले पत्र नबुझेपछि दोस्रो पटक पत्र बुझाउन  महानगरपालिकाका प्रतिनिधिहरु अहिले केहीबेरमा नेकपा एमालेको पार्टी कार्यालय जाने स्रोतले जनाएको छ । गत मंसिर ७ गते एमालेले दरबारमागर्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा फोहोर गरेको भन्दै काठमाडौं महानगरपालिकाले एक लाख जरिवाना गर्ने निर्णय गरेको थियो ।

खुल्ला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी फोहर उत्पादकको व्यवाथापकीय जिम्मेवारी पूरा  नगरेको भन्दै महानगरले  फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम जरिवानासम्बन्धी पत्र काटेको थियो । तर एमालेले उक्त पत्र बुझ्न मानेन ।