|  

५ दिने भ्रमण सम्पन्न गरी भारतीय स्थल सेनाध्यक्ष द्विवेदी स्वदेश फिर्ता

९ मंसिर, काठमाडौं । नेपाल भ्रमणमा आएका मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी र श्रीमती सुनिता द्विवेदी  ५ दिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता भएका छन् ।

आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेमध्वज अधिकारीले द्विवेदीलाई बिदाइ गरेका हुन् ।

भ्रमणको क्रममा जनरल द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गरेका थिए ।

जनरल द्विवेदीले आफ्नो भ्रमणको दौरान राष्ट्रपति, प्रधानमन्त्री, माननीय रक्षा मन्त्री र प्रधान सेनापतिसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए ।

उनले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेज र पोखरास्थित पश्चिम पृतना हे।क्वा।को भ्रमण गर्नुका साथै मुस्ताङ स्थित मुक्तिनाथ मन्दिरको दर्शन र माउण्टेन फ्लाईट मार्फत विभिन्न हिमालहरुको अवलोकन समेत गरेका थिए ।

यस भ्रमणले दुई देशबीच रहँदै आएको सौहार्दपूर्ण सैनिक सम्बन्धलाई अझ सुमधुर एवं प्रगाढ पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।