०९ मंसिर, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले स्टन्टबाजी गरेको टिप्पणी गरेका छन् ।
महानगरपालिकाले पठाएको जरिबानासहितको पत्र बुझ्न अस्वीकार गर्दै सामान्य प्रशासनिक कुराहरू बुझेर मात्रै काम अघि बढाउन उनले बालेनलाई आग्रह गरे । उनले चिठी बेठिक ठाउँमा आएको प्रतिक्रिया दिदैँ नेकपा एमाले केन्द्रीय कार्यालय उक्त कार्यक्रमको आयोजक नभएको बताए । उनले भने, ‘एमालेको इतिहास हेर्नुस्, एमालेले कहिले पनि आफूले कार्यक्रम गरेको ठाउँमा फोहोर छोडेको छैन ।’ कार्यक्रम नसकिँदै सञ्चारमाध्यममा पत्र पुगेको भन्दै आक्रोश व्यक्त गरे । उनले एमालेले कार्यक्रम गरेका हरेक ठाउँमा सरसफाई गरेको दाबी गरे ।
आज पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेको महानगरपालिकाको टोलीलाई नेकपा एमाले केन्द्रीय कार्यालयले आफूहरू आयोजक नभएको भन्दै पत्र बुझ्न अस्वीकार गरेको थियो । शुक्रबार दरबारमार्गमा भएको जागरण सभाको आयोजक नेकपा एमाले जिल्ला काठमाडौं, नेकपा एमाले जिल्ला ललितपुर र नेकपा एमाले जिल्ला कमिटी भक्तपुर भएकाले आयोजकहरूलाई नै पत्र बुझाउन एमालेले आग्रह गरेको छ । शुक्रबार एमालेले गरेको जागरण सभामा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरले जरिबाना पत्र लेखेको थियो ।