|  

रविसहित चारै जनालाई थप १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति 

०९ मंसिर, काठमाडौं । सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित चारै जना थप १५ दिन हिरासतमै रहने भएका छन ।

कास्की जिल्ला अदालतका न्यायाधीश भीमलाल बेलबासेको इजलासले रविसिहत चारै जनालाइ १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका चारै जनालाई म्याद थपका लागि आज बिहान १० बजे नै कास्की जिल्ला अदालतमा उपस्थित गराइएको हो । रविसँगै पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई र व्यवसायी रामबहादुर खनालको म्याद थपिएको हो । कार्तिक २ गते शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई शनिबार ३ गते बिहान कास्की लगिएको थियो । कास्की जिल्ला अदालत कात्तिक ४ मा छ, कात्तिक ८ मा सात, कात्तिक २० मा १० र कात्तिक २५ मा १३ दिन म्याद थप भएको थियो । यसबीचमा उनलाई रुपन्देहीसमेत र्पुयाइएको थियो । बुटवलको सुप्रिम सहकारीको बचत रकम हिनामिनामा उनीसँग चार दिनमा करिब २२ घण्टा लगाएर बयान लिइएको थियो । बयानमा क्रममा सोधिएका ६० प्रश्नमा उनले इन्कारी जवाफ दिएको बताइन्छ ।

रविलाइ केही दिनमै काठमाडौँ ल्याउने तयारी छ । काठमाडौँमा जोशीको भने बयान लिइसकेको छ । जोशी असोज ६ गते पक्राउ परेका थिए । उनलाई कात्तिक २५ मा छैटौँ पटक १३ दिनको म्याद थप भएको थियो ।