१० मंसिर, काठमाडौं । चिसो बढ्दै गएपछि बागलुङको ढोरपाटनका विद्यार्थी बिरामी पर्न थालेका छन् ।
ढोरपाटन नगरपालिका–९ चिसापानीस्थित ज्योति विकास माध्यमिक विद्यालय र छेन्तुङस्थित सिद्धबराह प्राथमिक विद्यालयका विद्यार्थी बिरामी पर्न थालेका हुन् । विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित भएको छ ।
उच्च पहाडी क्षेत्रमा पर्ने ढोरपाटनमा बिहानमा तुसारो पर्ने र दिउँसोमा चिसो सिरेटो चल्दा बालबालिका बिरामी पर्ने गरेको विद्यालयले जनाएको छ । विद्यार्थीलाई ज्वरो, रुघाखोकीसहित निमोनिया देखिँदा पढाइ प्रभावित भएको छ । जाडो याममा ढोरपाटनमा हिउँदमा विद्यालय बन्द हुने गर्छ ।
ढोरपाटन उपत्यका क्षेत्रमा ज्योति विकास माध्यमिक विद्यालय, सिद्धबराह प्राथमिक विद्यालय, सहलथान प्राथमिक विद्यालय, बाल ज्योति प्राथमिक विद्यालय, ढोरपाटन दुर्गम प्राथमिक विद्यालय र ढोरबहारा प्राथमिक विद्यालय सञ्चालनमा छन् । यी विद्यालय चिसोका कारण हरेक वर्ष पुस दोस्रो सातादेखि बन्द हुने गर्छन् ।