|  

प्रधानमन्त्री ओलीको चीन भ्रमणको तालिका तय

१० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तालिका तय भएको छ ।

परराष्ट्र मन्त्रालयले तयार पारेको प्रस्तावित भ्रमण तालिका अनुसार प्रधानमन्त्री ओली मंसिर १७ गते चीन प्रस्थान गर्नेछन्म । १८ गते चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री लि छ्याङसँग बेग्लाबेग्लै भेटवार्ता गर्नेछन् । सोही क्रममा दुई देशबीच सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर समेत हुनेछ ।

यसैगरी मंसिर १९ गते बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने, नेपाली तथा चिनियाँ उद्योगी व्यवसायीहरुसँगको छलफलमा सहभागी हुने र २० गते स्वदेश फर्किने गरी प्रधानमन्त्रीको भ्रमण तालिका प्रस्ताव गरिएको छ । प्रधानमन्त्री ओलीभन्दा केही दिन अगाडि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीन जाने तयारी छ । सम्भवतः परराष्ट्रमन्त्री राणा १३ गते नै बेइजिङ जानेछिन्म । उनले १४ गते चिनियाँ समकक्षी वाङ यीसहित चिनियाँ नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

यो परराष्ट्र मन्त्रालयले तयार पारेको प्रस्तावित तालिका भएकाले मन्त्रिपरिषद बैठकले पारित गर्न भने बाँकी छ । त्यसैले यसमा केही हेरफेर र कार्यक्रम थपघट पनि हुनसक्ने भनिएको छ  । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गरिरहेका छन् ।