१० मंसिर, काठमाडौं । सहकारी रकम अपचलनमा हिरासतमा रहेका पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेले सहकारीलाई चेक काटेर दिएको फेला परेको छ ।
लामिछानेको हस्ताक्षरसहितको चेक बुटवलको सुप्रिम र पोखराको सूर्यदर्शन सहकारी संस्थालाई बुझाएको अनुसन्धानका क्रममा भेटिएको प्रहरीले जनाएको छ । ‘गोर्खा मिडिया नेटवर्कले रवि लामिछानेको हस्ताक्षरसहित सुप्रिम सहकारीलाई गरेको भुक्तानीको चेक फेला पारेका छौं’ अनुसन्धानमा संलग्न एक प्रहरीले भने, ‘उहाँसँग यसबारे सोधपुछ र लिखित बयान भइसकेको छ, सहकारी ठगीको अभियोगमा उहाँको संलग्नता पुष्टि गर्ने यो महत्वपूर्ण प्रमाण हो ।’
रुपन्देहीको सुप्रिम सहकारीबाट पटकपटक रकम लिएको गोर्खा मिडिया प्रा.लि.ले त्यही सहकारीलाई ४० लाख ४२ हजार रुपैयाँ फिर्ता गरेको चेक गरेको छ, तिनमा लामिछानेको पनि हस्ताक्षर छ ।गोर्खा मिडिया र सुप्रिम सहकारीमाथि अनुसन्धानका क्रममा लामिछानेले काटेको चेक फेला परेपछि उनलाई चेकको प्रतिलिपि देखाएरै सोधपुछ गरिएको थियो ।
प्रहरी स्रोतका अनुसार लामिछानेले चाहिँ आफू गोर्खा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशक हुँदा कतिपय अवस्थामा अत्यावश्यक कामका लागि रित्तो चेक काटेर घर्रामा छाड्ने गरेको जिकिर गरेका छन् । उनले भनेका छन्, ‘ड्रयरमा राखेका बेला अरु कसैले त्यो चेकमा नाम लेखेर पठाएको हुन सक्छ ।’
रुपन्देहीमा जिल्ला सरकारी वकिलको कार्यालयमा सरकारी वकिलहरुको रोहबरमा बयान भएको थियो, जहाँ लामिछानेलाई उनले काटेको चेकबारे सोधिएको थियो । त्यसमा पनि उनले गोर्खा मिडिया नेटवर्क प्रा।लि।मा रकम ल्याउने विषयको सम्पूर्ण जिम्मेवारी अध्यक्ष जिबी राईकै भएको बताएका छन् ।