|  

सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबिच भेटवार्ता

१० मंसिर, काठमाडौं । कम्बोडिया भ्रमणमा रहेका सभामुख देवराज घिमिरे र प्रधानमन्त्री सम्देच हुन मानेटबीच भेटवार्ता भएको छ । उनीहरुबीच कम्बोडियाको पिस प्यालेसमा भेट भएको हो ।

भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने महत्वपूर्ण विषयहरूमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ । भेटमा सभामुख घिमिरेले नेपालको बुद्धको जन्मस्थल लुम्बिनी र कम्बोडियाको अंगकोरबाट हिन्दू तथा बौद्ध सम्पदाहरूलाई प्रवर्द्धन गर्न प्रत्यक्ष हवाई सेवा सुरु गर्नुपर्नेमा जोड दिए ।

भेटमा दुवै देशका नागरिकबीच आदानप्रदानका कार्यक्रमलाई बढावा दिनेबारे छलफल भएको थियो । सभामुख  घिमिरेले नेपाल भ्रमणको लागि कम्बोडियाका प्रधानमन्त्रीलाई औपचारिक निमन्त्रणा दिए ।

प्रधानमन्त्री मानेटले साना राष्ट्रहरूको सहकार्यका लागि सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आईपीटीपी)को अन्तर–संसदीय सभा उत्कृष्ट मञ्च भएको बताउँदै आफू समय मिलाएर नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गरे ।