१० मंसिर, काठमाडौं । कपिलवस्तुमा बाघको छालासहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–५ गोलपार्क बस्ने ४१ वर्षीय विष्णुप्रसाद भट्टराई छन् । उनलाई शिवराज नगरपालिका–२ हल्लानगरस्थित करूणा रेष्टुरेन्ट एण्ड लज बाहिरबाट आइतबार एक जनालाई पक्राउ गरेको हो ।
बाघको छालाको कारोबार भइरहेको भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सुजन शाहको कमाण्डमा सादा पोशाकको टोली खटिएको थियो । उक्त टोलीले रेष्टुरेन्ट बाहिर उभिरहेका भट्टराईको तलासी लिएको थियो ।
उनले बोकेको बोराभित्र बाघको छाला बरामद भएको हो । उक्त छाला टाउकोदेखि पुच्छरको फेद सम्म ६ फिट लम्बाई छ। पुच्छरको भाग २ फिट २ इन्च लम्बाई भएको छ।चार वटा दाह्रा, चारै खुट्टाको पंजाको भागमा नङ्ग्रा भएको र छालामा गोली लागे जस्तो तीन वटा सानो प्वाल देखिएको छ।